• nepalpressunion@gmail.com
  • 01-5244746

प्रेस विज्ञप्ति


image

प्रेस–विज्ञप्ति

नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८० जेठ २३ गते भक्तपुरमा सम्पन्न भएको छ । केन्द्रीय समिति बैठकले तपसीलअनुसारका निर्णय गरेको छ ।

१.नेपाल प्रेस युनियनका अधिवेशन हुन बाँकी रहेका शाखा अधिवेशन मिति २०८० असार ५ गतेसम्म सम्पन्न गर्ने ।

२.नेपाल प्रेस युनियनले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ सफलतापूर्वक सम्पन्न गर्ने, पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयार समिति र नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षकको सूची तयार गर्ने समिति गठन गर्ने ।

३. नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियनले नजिकबाट नियालिरहेको छ । सदस्यता शुद्धीकरणमा प्रेस युनियनको साथ छ । तर, सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढिरहँदा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा नेपाल प्रेस युनियनले प्रतिवाद गर्नेछ ।

४.मुलुकमा देखिएको आर्थिक मन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेको सन्दर्भमा सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले दिने समाचार सेवा निःशुल्क उपलब्ध गराउन युनियन आग्रह गर्दछ ।

५.केही सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारको पारिश्रमिक समयमा उपलब्ध नगराएको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न तथा श्रमजीवी पत्रकारको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोष निर्माण गर्न सञ्चार प्रतिष्ठानहरूसँग नेपाल प्रेस युनियन माग गर्दछ ।

६. सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी सरल तथा सहज तरिकाले उपलब्ध गराउन, सञ्चारमाध्यमलाई दिँदै आएको विज्ञापनबापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण र सम्वद्र्धनका लागि सरकार तथा सम्बद्ध सरकारी निकायलाई विशेष आग्रह गर्ने । साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण गर्ने नीति लिन, एफएम रेडियोहरूको नवीकरण राजस्वमा उल्लेख्य छुट दिन सरकारसँग माग गर्ने ।

७. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाहरूप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार प्रतिकूल हुनेगरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउन केन्द्रीय समितिको यो बैठक तीनै तहका सरकारसँग जोडदार माग गर्दछ ।

दिलीप पौडेल

महासचिव